|
|
|
|
जीवन्त जीवन --सरोज कार्की जिन्दगी आनन्दको खोज हो। भेट्न सके मोज हो, होइन भने बोझ हो। हामी जन्मियौँ जितेर, तर बाँच्तै छौँ हारेर। त्यसैले हाम्रो अनुहार हारेको खेलाडीको जस्तो, सधैँ निहुरमुन्टी न भयो, राम्रो म हुनै सकेन। हामी जन्मिँदा बक्सियोस् भनेर जन्मिए पनि तीन वर्ष नपुग्दै तिमी भयौँ, त्यसपछि प्रमोसन होइन डिमोसन भइरह्यौँ, त्यसैले कसैलाई काम नलाग्ने जिन्दगी बाँचेर, वनको बनमाराजस्तै माटामै मिल्ने भयौँ। त्यसैले अब अन्डाबाट पन्छी आकाशमा उडेझैँ उड्नुपर्छ, यो जिन्दगी अरूको लागि बाँच्नुपर्छ। तब हामी मरेर पनि बाँचिरहन्छौँ, जसरी बुद्ध बाँचिरहेका छन्, जसरी जिजस मनमन्दिरमा रहेका छन्। हामी सोचौँ, 2500 वर्षअघि जन्मेका बुद्ध हाम्रा छातीभित्र जिउँदै छन्, जिजस हाम्रा मनमनमा विचरण गर्छन्, तर हामीलाई हामीलाई हाम्रा बाजेको बाजेका बारेमा के थाहा छ र ! नढाँटी भन्नुपर्छ हामीले हाम्रा बाजेका बाजेको नामै बिर्सिसक्यौँ। तपाईँ-हाम्रा पनि त्यस्तै दिन आउनेछन्। अब हामीले सङ्कल्प गर्नुपर्छ सुकामोहरको मात्र जिन्दगी बाँच्तिनँ भनेर। अर्थात् आज कम्मर कस्नुपर्छ बाँच्तैबाँच्तै बाँच्नलाई, र मरेपछि बाँच्नलाई। हिजोसम्म सय रुपियाँका लागि सय झूट बोले पनि, अलिकति फाइदाका लागि गधाको पाउ मोले पनि बिर्सिदिनोस् ती पुराना कुरा। आज हामी सोचौँ, हामी खाल्टामा छौँ, तर हरेक खाल्टाको नाप्न सकिने मात्र गहिराइ हुन्छ। औँसीको रातमा पनि चाँदीको घेरा हुन्छ। अब हामीले हाम्रो एक रुपियाँको हैसियत भए पनि हजारसँग सङ्गत गरेर एक हजार हुने नयाँ जिन्दगी बाँच्नुपर्छ। किनकि हाम्रो जन्मदिनको उपलक्ष्यमा दयालु परमेश्वरले यो संसार उपहार दिनुभएको हो। अब जिन्दगीलाई सफलताको न्यानो चाहिएको छ। न्यानो पाउन आगोनजिक गए मात्र सम्भव हुन्छ। यसर्थ जिन्दगीको परिभाषा हामीले बुझ्नैपर्छ। हामीले हिजोसम्म बाघलाई हिंस्रक भन्यौँ । वास्तवमा बाधभन्दा हामी कता हो कता हिंस्रक रहेछौँ, किनकि बाघले बाघलाई मारेको सुनिएको छैन। तर मान्छे मान्छेलाई मार्ने खेती गरिरहेको छ। अब हात छातीमा राखेर हामी नै बोलौँ त, बाघ हिंस्रक हो कि हामी ? हामी आगोलाई आगैले निभाउन खोजिरहेका छौँ। हाम्रै युद्धलाई हेर्नोस् त, यस युद्धले सर्वनाश गरिरहेको छ, तर आगो निभाउन भनेर यता र उताका दुवै आगो लिएर हानाहान गरिरहेका छन्। हामी सोझानिर्धा जनतालाई राम्ररी थाहा छः आगो निभाउन पानी चाहिन्छ भनेर, तर के गर्ने ? सतीले सरापेपछि बन्दुक बोक्नेलाई पनि डाक्टर भन्नै पर्ने। डाक्टरको कुरा गर्दा, अरू देशका डाक्टहरूले बिरामीलाई बचाउँछन्, हाम्रा देशका डाक्टरले सद्देलाई सिध्याउँछन्। त्यसैले होला सतीले सरापेको भनेको। खैर जे होस्, अब हामी यो वन र सहरको युद्धतिरभन्दा मनको युद्धतिर लागौँ। यस युद्धमा लाग्नलाई चौबीस घण्टामध्ये एक घण्टामात्र छुट्याए पुग्छ। त्यसपछि आनन्द र खुसीको मुहान नै भेट्नुहुनेछ। तीन महिना दैनिकी बनाउनोस् अनि तपाईँ आफैँ दिवाना बन्नुहुनेछ, पल्किनुहुनेछ यस युद्धतिर। हामीभित्रै छ आनन्द र खुसी, तर खोज्छौँ बाहिरतिर। कस्तुरीले बिना खोजेझैँ। यहीँनेर महाभूल भै रहेको छ। यसर्थ यहालाईँ चुलैनिम्तो छ यस युद्धमा होमिन। हामीभित्रै रामको राज्य छ, सुखको स्वर्ग छ। यो कुरा जिजसले दुई हजार वर्षअघि अमृतवचनद्वारा भन्नुभएको थियोः तिमीभित्रको स्वर्ग तिमी खोज, बाहिरको स्वर्ग म सित्तैमा दिउँला। यो अमृतवचनद्वारा हामीभित्रैको सुखको स्वर्ग छ भन्ने कुरा प्रमाणित हुँदैन र ? यस जिन्दगीको परिभाषा फेरि कोरौँ। यहाँलाई एक जीवन्त जीवन जिउने अग्रिम शुभकामना।
******
|