Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


 

मृत्युचित्र

--समुन्द्रा शर्मा

बादल डढेको हुँदो हो

सूर्य अस्ताउने क्रममा

अप्रत्याशित आँधीको

चपेटामा परेर

एक्लै परेका बचराझैँ

आमाको अनुहार पढ्न

खोज्दा हुन् नानीहरू

आमाजस्तै देखिने

अनुहारहरूमा

 

आफन्तहरूको भीड

बढ्दो हो क्रमशः

मलामीहरू सर्जाम गर्दा हुन्।

मेरो अनुहार-

सिँगार्दै गरेकाहरूको आँखामा

बाफिँदो हो आँसु

मेरो सिउँदो भर्न खोजेका

उनका हातहरूमा

अनायासै पक्षाघात हुँदो हो

टोलाएर सम्झिँदा हुन् ती दिनहरू

हाम्रा जीवन आरम्भका।

दुख्दो हो कटक्क मुटु चुँडिएर

जीवन अन्त्यको बिदाइ-क्षणमा

ती मूर्तिवत् बसिरहँदा हुन्।

 

चिता सजिँदो हो

म हुरुरु बल्दी हुँ धूवाँको बाटो हुँदै

अनन्तमा गएको

आभास पाल्दा हुन् उनी

 

छोरीहरू बाबालाई

देखेर सोध्दा हुन्

म नहुनुको पीडा-बोधमा

उनी आकाशको

एउटा तारा देखाउँदै

भन्दा हुन्

उः तिमीहरूकी आमा !

 

जिल्ल परेर नानीहरू

उनको अनुहारमा

एकोहोरिँदा हुन्

आँगनमा पोथीले

बच्चा छोपेको दृश्य देखेर

एकपटक छिर्दा हुन् घरभित्र

आमा ! ओठ आफैँ बोल्दो हो ।

 

बिर्सनै नसकिने

अनन्त पीडाभित्र

जीवन कति दुख्दो हो !

 

*****

आवाज हराएको बेलाबाट