|
केही हाइकुहरू
--मिश्र वैजयन्ती
-
बलेको आगो
झुम्म छन् मनहरू
म रित्तो छु।
-
धमिरा नेता
कुटुक्क मुटु टोक्छ
घर पो लड्छ कि !
-
मेरो घरमा
ढोकाबाट बिस्तारै
छिर्दै
छ घाम।
-
जुनेली रात
कोइलीको धुन र म
हल्लेको पात।
-
बन्द नयन
स्मृतिको प्रिय क्षण
गुलाब फूल।
-
अँधेरी रात
आँखामा परदेशी
तुनामा शीत
-
नेताको बोली
तित्रीका बोटमाथि
पाङ्ग्राको कोसो।
-
समुद्री आँधी
छाना त उक्किएछन्
घोषणापत्र।
-
आएँ छलेर
ए जून ! हतारमा
नछल याम।
-
धमिलो दृश्य
युद्ध ओढेको दिन
बेरुजु तन।
*****
‘संवेदनाका
नागबेलीहरू’बाट
|