|
|
|
|
सन्तानलाई --ज्योति जङ्गल स्नेह फुलाएर समर्पण सजाउँदा अनायास अङ्कुरण भएथ्यौ तिमी।
पहिलो पल्ट, कोखमा तिम्रो ढुकढुकी छाम्दा साँच्चै जीवन फुलेको जस्तो लाग्यो मायाको रङ पोतेर आँखामा छल्किएथ्यौ तिमी।
तिमी जन्मँदा, विकराल अन्तराल पनि जन्मिएछ, तिमी त, पूर्ण अस्तित्व बनेछौ थाहै नपाई प्रसवको असीम वेदनामाझ आफूलाई छुट्ट्याएर मबाट अलि पर बनेछौ थाहै नपाई।
स्नेहका धारा चुसाएँ छातीमा समेटेर तिमीलाई तिमी पर भएको मेरो पराजित विजयको दियो मनभित्रै सल्किन्छ र पोल्छ कहिलेकाहीँ।
तिमी हिँड्यौ तिमी बोल्यौ तिमी कोपिलायौ र फुल्यौ हावाभरि, बाटाभरि महक जीवनको..........
ती दिनहरू सम्झन्छु मैले खाँदा तिमी अघाउँथ्यौ ती दिनहरू सम्झन्छु म सुत्दा तिमी निदाउँथ्यौ। अनभिज्ञ छु जीवन-नाउले, समयको गतिले कहाँ पुर्याउँछ तिमीलाई ? कहाँ छाड्छ मलाई ?
समय-अन्तरालमा के सोच्नेछौ तिमीले मेरो मनको गहिराइमा तर तिमी हुनेछौ आशीर्वादका गुच्छाहरूमाझ सधैँ।
******
‘पहाडको मन’बाट
|