Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


 

भो, भो कविता अब लेखिँदैन

--एकु घिमिरे

 

देखेर रोई जननी बसेकी

फुल्याउँथेँ यै कविता म लेखी

ऐले कतै शान्ति र चैन छैन

भो, भो कविता अब लेखिँदैन !

 

नेता र हाकिम सबको फटाइँ

लेखेर सारा उनको बिझाइँ

पोख्ता पनि क्वै किन सप्रिएन

भो, भो कविता अब लेखिँदैन !

 

लड्‌दा मरे दाजु र भाइ कत्ति

बढ्दै छ दिनदिन किन हो विपत्ति

आफैँ फुटे, घर अझ सप्रिएन

भो, भो कविता अब लेखिँदैन !

 

बैराहरूको घरमा गएर

पढ्दा कविता अब अर्थ के छ ?

सुन्नेहरूको मन ठीक छैन

भो, भो कविता अब लेखिँदैन !

 

कोही रुँदै छन् टुहुरा बनेर

कोही रुँदै छन् विधवा बनेर

त्यो आँसुमा झन् पीर थप्‍नु छैन

भो, भो कविता अब लेखिँदैन !

 

यो काव्यले खै कति के लछार्ला ?

थाम्दैन यसले न त क्यै पछार्ला

लेखे पनि युद्ध त थामिँदैन

भो, भो कविता अब लेखिँदैन !

 

स्वार्थी दुनियाँ अतिचार स्वार्थी

बाबु र स्वास्‍नी, दिदी, भाइ स्वार्थी

आफ्नो कति स्वार्थ छ देखिँदैन

भो, भो कविता अब लेखिँदैन !

 

*****