Free Web Hosting by Netfirms
Web Hosting by Netfirms | Free Domain Names by Netfirms


 

अफ दि रिकर्ड

- धीरकुमार श्रेष्ठ

 

पत्रकारिताप्रतिको सोख लामो समयदेखिको भए पनि त्यो पूरा हुन सकिरहेको थिएन । पत्रकारितामा पनि विद्युतीय पत्रकारिताप्रतिको रुचि मभित्र तीव्र थियो । मेरो रुचिले साकार रूप पाउने अभिलक्षण त्यस बखत देखाएको थियो जब खुला बजारको मान्यताअनुरूप प्रतिस्पर्धात्मक वातावरणको सिर्जना भएर देशमा धमाधम नयाँ-नयाँ टेलिभिजन च्यानलहरूले दर्ता पाउन थालेका थिए । ती दिनहरूमा म तिनीहरूले माग गर्ने जनशक्तिको विज्ञापनका लागि अधैर्य भएर पर्खन थालेको थिएँ । यसबीचमा बजारमा खुलेका प्रशिक्षण केन्द्रहरूबाट मैले प्रशिक्षणसमेत प्राप्त गरिसकेको थिएँ । एक दिन तिनैमध्ये एउटा च्यानलले सार्वजनिक रूपमा विज्ञापन गरी जनशक्तिको माग गरेपछि मेरो व्यग्र प्रतीक्षाको अन्त्य भएको थियो । हतारहतार योग्यताका सम्पूर्ण प्रमाणपत्रसहित आफूलाई पनि उमेदवारका पङ्क्तिमा उभ्याएको थिएँ ।

लिखित परीक्षामा उत्तीर्ण भएपछि अन्तर्वार्ताको दिनको कुरो हो । त्यस दिन छनौटसमितिका सदस्यहरूका तीखा-तीखा प्रश्न र उपेक्षापूर्ण भावहरूका कारण एकपटक त सम्पूर्ण कुरा छाडेर जङ्गल पसी "रामनाम" जप्न थालूँ कि जस्तो झोक नचलेको होइन तर मैले त्यसो गर्न सकिनँ । किनभने मेरो बेरोजगार आँखामा टेलिभिजनको जागिर छमछम मारुनी नाचिरहेको थियो । यसभन्दा बढी पीडा त्यस बखत भयो जब समितिका सदस्यहरू आ-आफ्ना चिने-जानेकाहरूलाई पिठ्यूँमा धाप मार्दै अँगालो मारी यताउति फर्याकफुरुक गरिरहेका थिए । त्यस्ता धाप मारिपाउने प्रतियोगीहरूका फुर्ती हेर्नलायकका थिए । तिनीहरू मजस्ता प्रतियोगीहरूलाई बाघका आँखाले हेर्थे भने मजस्ता हामीहरू तिनीहरूलाई मृगका त्रसित आँखाले हेर्थ्यौँ । तिनीहरू र हामीहरूका बीचमा स्पष्ट दूरी कायम थिए जसको उल्लङ्घन न तिनीहरू गर्न सक्थे न हामीहरू । समितिका सदस्यका भन्दा पनि तिनीहरूका हामीप्रतिको अछूतको व्यवहारले हामीलाई भित्रैसम्म हल्लाइरहेको थियो तरपनि केही लछारपाटो लाउन नसक्ने विवशता हाम्रा अगाडि हामीसँग थियो । आफ्नै देशमा सम्मानका साथ बाँच्न नपाउने अनागरिकको पीडालाई हामी बलैसित पचाइरहका थियौँ । त्यस क्षणले आज पनि मलाई बेला-बेलामा घोच्ने गरेको छ । त्यसलाई बिर्सन किन यतिबिघ्न गाह्रो परेको हो म केही बुझ्न सकिरहेको छैनँ ।

यो देशमा सुखपूर्वक बाँच्ने हो भने आफ्नो स्वाभिमानलाई बोराको मुख (नखुस्कने गरी) टम्म पारी बाँधेर त्रिशुलीमा बगाइसकेपछि मात्र चारभन्ज्याङ छिर्नुपर्ने रहेछ । निर्लज्जतापूर्वक नाङ्गो नाच नाच्न सक्ने हो भनेमात्र प्रगतिका खुड्किलाहरू चढ्न सकिने रहेछ । यसो भयो भने मञ्चमा उक्लिएका बखत बात-बातमा थपडी बजाउने बाँदरफौजहरूसमेत आफसे आफ तयार हुने रहेछन् । नभए.........ले नपाउने दुःख पाइने रहेछ ।

टेलिभिजन च्यानलमा आफूलाई पनि प्रतियोगी बनाएपछि खुलासा भएको वास्तविकताका पछाडि कुद्‌न नसक्ता हीनताबोध भए पनि त्यसलाई पचाइरहेको थिएँ र उज्याला मुखमण्डलमा यताउता फर्याकफुरुक गर्नेहरूका अगाडि आफ्नो लिलिपुटको उचाइलाई जसोतसो बलपूर्वक जोगाइरहेको थिएँ । अन्तर्वार्ता सकिएपछि स्क्रिन टेस्ट दिएर परिणाम पर्खन थालेको थिएँ । लामो समयसम्म परिणाम ननिस्कँदा कुमारी आमाले चोरीछलेर अवैध रूपमा गर्भ तुहाएजस्तो तुहिएको हो कि भन्ने शङ्का नलागेको होइन । छातीमा हात राखेर नढाँटी भन्नुपर्दा यस्तै लागेको थियो र शङ्का उपशङ्काका ऊहापोहहरू नभोगिएका होइनन् । जेजस्ता भए पनि पर्खनुको विकल्प नभएका कारण म लाचार पर्खन थालेको थिएँ ।

यसबीच थुप्रै शुभचिन्तकहरूले थुप्रै खालका सल्लाहहरू नदिएका होइनन् । सबैको साररूप एउटै थियो "कतै न कतैबाट भन्न लगाउनैपर्छ अथवा पैसा खर्च गर्नैपर्छ, होइन भने जागिर पाउन गाह्रो छ ।" उनीहरूले यसो भन्दा मैले लोकसेवा आयोगलाई देखाएर भनेको थिएँ, "यो देशमा कतै न कतै यस्तो संस्था बाँचेको छ जसले आफ्नो स्वच्छतालाई कायम राख्‍न सकेको छ र धेरै (सबै) को विश्वास जित्‍न सकेको छ । के ठेगान यो टेलिभिजन च्यानल पनि अर्को लोकसेवा आयोग बनेर देखापर्छ कि ।" मेरा शुभचिन्तकहरूलाई यस्तो जवाफ दिएर वास्तवमा म आफैँलाई ढाँटिरहेको थिएँ । नभए मलाई पनि सानैदेखि उक्त गुरुमन्त्र मेरा आफन्त र देशवासीले नसिकाएका होइनन् । पैसा र आफ्नो मान्छे भएपछि यहाँ जे पनि हुन्छ भन्ने सूत्र मलाई धेरै पटक कण्ठ गर्न लगाइएको हो । मलाई कतिसम्म शिक्षा दिइएको थियो भने ब्रिटेनको सर्वाधिकारप्राप्त संसद्ले गर्न नसक्ने एउटै काम लोग्नेमान्छेलाई स्वास्नीमान्छे र स्वास्नीमान्छेलाई लोग्नेमान्छे बनाउने जस्तो काम पनि यो देशमा पैसा र आफन्तले गर्न सक्छन् । आजको वैज्ञानिक युगमा पैसाले लोग्नेमान्छेलाई स्वास्नीमान्छे र स्वास्नीमान्छेलाई लोग्नेमान्छे बनाउन सकिन्छ भन्ने तर्कलाई मैले पत्याएको थिएँ । किनभने विश्वप्रसिद्ध गायक माइकल ज्याक्सन लोग्नेमान्छेबाट स्वास्नीमान्छे बनेको हल्ला त्यस बखतसम्म मैले सुनिसकेको थिएँ । हल्लामा सत्यता नभए पनि यससम्बन्धी अखबारी समाचारहरूका कारण यसलाई पत्याउन थालेको थिएँ । तर आफन्तले पनि लोग्नेमान्छेलाई स्वास्नीमान्छे र स्वास्नीमान्छेलाई लोग्नेमान्छे बनाउन सक्छ भन्ने कुरालाई मैले पत्याएको थिइनँ । बरु सम्पत्ति हडप्नाका लागि आफन्तबाट मृत प्रमाणित गरिएकाहरूले आफ्नै मृत्युदर्ताको प्रमाणपत्र बोकेर न्यायका लागि ढोकाढोका चहार्दै गरेको समाचार मैले अखबारहरूमा पढेको थिएँ । यसमा भने सोह्रैआना सत्यता थियो ।

"उस् ! सबै ठाउँलाई लोकसेवा आयोग देख्ता पाउलास् फल । यो ...... हो भाइ ......, युरोप अथवा अमेरिका होइन । यहाँ यहीँको कानुन चल्छ । विदेशका कुरा यहाँ काम लाग्दैनन् । मैले भनेको भनेर लेखिराख् । फरक खाएछ भने मेरो मुखमा .....दिनू" मेरो कानमा बतास नलागेपछि मेरा शुभचिन्तकहरूले यसरी मेरो मुख लोपारिदिएका थिए । मलाई यस्ता शिक्षा स्कुल र कलेजदेखि बाहिर दिइएका थिए जसको मसँग कुनै अभिलेख थिएन र छैन । मलाई दिइएका यस्ता अनौपचारिक शिक्षामा सत्यताका अंश भए पनि वास्तवमा गाँठी कुरो के थियो भने न मसँग पैसा थियो न उपल्ला तहमा पुगेका मेरा कोही आफन्त थिए । दिउँसै बत्ती बालेर खोजे पनि बाबुआमा र ससुराली, कतैबाट पनि सात पुस्तासम्म नाता पर्ने आफन्त फेला नपरेपछि शुभचिन्तकहरूको मुख बुजो लगाउनाका लागि मैले लोकसेवा आयोगको सहारा लिएको थिएँ जुन सफल भएको थियो । मेरा शुभचिन्तकहरूले केही समयपछि मलाई उपदेश दिन र सम्झाउन छाडेका थिए । उनीहरूको अन्तिम कथन थियो "यो पागल हो, यसलाई सम्झाउन सकिन्न । ........ले नपाउने दुःख पाएपछि मात्र यसको घैँटामा घाम लाग्छ ।"

समय बित्दै गएको थियो । परिणामको प्रतीक्षा पनि लम्बिँदै गएको थियो । आज आउला भोलि आउला भन्दाभन्दै लामो समय बितेपछि एक दिन टेलिभिजन अफिसको सूचनाबोर्डमा नतिजा टाँसिएको घोइरोघोइरो हल्ला मसम्म आइपुगेको थियो । आस मारिसकेको हराएको छोरो एकाएक पाएजस्तो खुसी भएर टोपी हातमा लिई कुदेको थिएँ त्यतातिर । टेलिभिजन अफिसतिर कुद्दा आफू सफल हुने वा नहुनेभन्दा पनि परिणाम निस्केकोमा बढी आनन्द लागिरहेको थियो ।

कस्तो अचम्म ! सूचनाबोर्डका सबै कागजहरू च्यातिएका थिए । त्यहाँ परिणामको '' र नतिजाको '' पनि थिएन । भित्र प्रशासन-शाखाबाट ठूल्ठूलो स्वरमा आवाज भने आइरहेको थियो "हाम्रो नभएर त्यो गँवार-पाखेको हुने । हेरौँला त्यसले कसरी कार्यक्रम-निर्माण गर्दो रहेछ । टेलिभिजनको कार्यक्रम-निर्माण गर्नुलाई के हल्लुँड समात्‍नुजस्तो ठानेको छ .......त्यसले ।" यस्तै के-के गलफत्ती हुँदै थियो त्यहाँ । सबै मैले सुन्न सकिनँ । सुनेकै भए पनि ती सबै विशेषणहरू यहाँ लेख्‍न सकिन्न । लेखेँ भने तपाईंहरूले "गतिछाडा" भन्दै मेरा लागि अरू विशेषणहरू थप्नुहुन्छ ।

भएको के रहेछ भने प्रतियोगीहरूमध्ये मेरो नाम १ नम्बरमा निस्केको रहेछ जसको रिस उनीहरूले सूचनाबोर्डको सूचनालाई च्यातेर पोखिसकेका रहेछन् । त्यतिले रिस नमरेपछि उनीहरू प्रशासन-शाखामा बाझ्न पुगेका रहेछन् । प्रशासन-शाखाका कारिन्दा भने उनीहरूका अगाडि ङिच्चङिच्च दाँत देखाउँदै आफ्नो निरीहता प्रदर्शन गर्दै रहेछन् । परिणाम टाँस्नेबित्तिकै प्रशासन शाखाका हाकिम भने कुलेलम ठोकिसकेका रहेछन् । मलाई मेरा प्रतियोगीहरूले देखेपछि बाघले बाख्रालाई हेरेजस्तै आँखाले हेरेका थिए । एकछिनका लागि उनीहरूको हेराइबाट मभित्रको धनु भाँचिएला-भाँचिएलाजस्तो भएको थियो । साहसका साथ आफूलाई अड्याएको थिएँ । "हामीले जानेका छौँ।" यसो भन्दै उनीहरू बाहिरिएपछि मभित्रको कामेको मान्छे बल्ल स्थिर भएको थियो । त्यस बखत लोकसेवा आयोगलाई एकपटक सम्झन म बाध्य भएको थिएँ ।

यसपछि मेरा आफन्त र शुभचिन्तकका अगाडि मेरो धाक बढेको थियो । उनीहरूको मलाई हेर्ने दृष्टिकोणमा एकाएक परिवर्तन आएको थियो । जागिर हुने र नहुने मान्छेलाई हेर्ने दृष्टिकोणमा आकाशपातालको भिन्नता हुने रहेछ । यो त्यस बखतमात्र मेरो सामान्य ज्ञानमा छिरेको थियो । मलाई उपदेश दिनेमध्ये कोही-कोही भने मैले भित्रभित्रै आफ्नो मान्छे लगाएर अथवा पैसा ख्वाएर जागिर हात पारेको भन्दै थिए अरे । यो देशमा कतै कुनै निष्पक्ष काम हुन सक्छ भन्ने शब्दै उनीहरूको शब्दकोशमा नभएकोले उनीहरूलाई विश्वास गर्न गाह्रो परिरहेको थियो अरे । भन्नेले जेसुकै भनून् भन्ने सोचेर म भने लागेको थिएँ जागिरको बाटोमा ।

लामो प्रयासपछि पाएको जागिरको आनन्द बेग्लै हुने रहेछ । भोक खाएर अघाउन बानी परेकालाई एक्कासी मसिनो चामलको भात खान भेट्ता जस्तो अनुभव हुन्छ, त्यस्तै भएको थियो मलाई त्यस क्षण । नाक छुने ठाडो उकालो चढेर थकाइले लेथ्नो भएका बेला भेटिने भञ्ज्याङको चिसो हावाको आनन्दले हृदय रसाएको जस्तो भएको थियो । बेरोजगारबाट रोजगार, त्यो पनि आफूले इच्छाएअनुसारको; हुँदा खुसीको सीमा नहुने रहेछ । अन्धकारग्रस्त जीवनमा एकै पटक हजार सूर्य उदाएजस्तो उज्यालो भएको थियो ।

जागिर पाउन गाह्रो; पाइसकेपछि जोगाउन गाह्रो । यसैले इलेक्ट्रोनिक मेडियाको जागिरलाई मैले नयाँ तरिकाले खाने विचार गरेको थिएँ । नियुक्ति पाएको दिनबाटै मेरो ध्यान सधैँ केमा हुनथालेको थियो भने जसरी टेलिभिजनका कार्यक्रमहरू चलिरहेका थिए त्यसैलाई निरन्तरता दिँदा केही नयाँपन दिन सकिन्न । केही नयाँ गरेर देखाउने चाहना मभित्र यसकारण पनि आएको थियो कि ती कार्यक्रमहरू "मान न मान मै तेरा मेहमान" जस्ता थिए । दर्शकको रुचि होस् अथवा नहोस् कार्यक्रमका नाममा कार्यक्रमका शृङ्खलाहरू द्रुत गतिमा बढ्दै थिए । दर्शकले नरुचाएका कार्यक्रमहरू कोच्याएर खुवाइएका खानाजस्ता थिए । यसले गर्दा स्वदेशी च्यानलको लोकप्रियता दिनप्रतिदिन घट्तो थियो भने विदेशी च्यानलको दबदबा निरन्तर बढ्दो थियो । हुँदाहुँदा कस्तोसम्म भइसकेको थियो भने विदेशी च्यानल भएका दर्शकहरूले स्वदेशी च्यानलका कार्यक्रमहरू नहेर्नुलाई गर्वका रूपमा लिन थालिसकेका थिए । तिनीहरूका बीचमा टेलिभिजनका कार्यक्रमका बारेमा चर्चा हुँदा केवल विदेशी च्यानलका कार्यक्रमका बारेमा चर्चा हुन्थ्यो । यस्ता बेला स्वदेशी च्यानलमात्र भएका दर्शकले रातो मुख लगाएर बस्नुपर्थ्यो । यस्ता दर्शकलाई त्यस बेला झन् खपिनसक्नु पीर पर्थ्यो जति बेला उनीहरूले सुन्नुपर्थ्यो, "स्वदेशी च्यानलको कुनै पनि कार्यक्रम हेर्नलायक छैनन् । समाचारमात्र बाध्यतापूर्वक हेरिन्छ । त्यो पनि कहिलेकाहीँ साँचो कुरा थाहा पाउन विदेशी च्यानल नै हेर्नुपर्छ ।यस कुराको पुष्टि स्वदेशी च्यानलका एकजना कर्मचारीको भनाइबाट पनि हुन्थ्यो । उनको कथन प्रायः हुनेगर्थ्यो, "विदेशी च्यानल भएका दर्शकले समाचारबाहेक हाम्रो अरू कार्यक्रम हेर्ने होइन । त्यो नभएका दर्शकले हाम्रा सबै कार्यक्रम नहेरी सुखै छैन । त्यसकारण किन मरिमेट्ने । जागिर पाकिहाल्छ । यति भए आफूलाई पुगिहाल्छ ।"

ती कर्मचारीका कुरा आफ्ना ठाउँमा सोह्रैआना ठीक थिए । किनभने देशमा आएको खुलापनले केवल स्वदेशी च्यानलहरूमात्र खुलेका थिएनन् । देशको आकाशभरि विदेशी च्यानलहरू दैनिक चौबीस घण्टा र हप्तामा सातै दिन मडारिइरहेका हुन्थे । यसले गर्दा सहरका धेरैजसो घरहरूमा तिनीहरूकै दबदबा थियो । उच्च प्रविधि  र स्तरीय कार्यक्रमका कारण तिनीहरू अधिकांश दर्शकको ध्यान आफूतिर तान्न सफल थिए । यसैको आडमा तिनीहरू बेलाबेला दर्शकले धान्नै नसक्ने गरी शुल्क बढाउने घोषणा गर्थे । यसबाट मेरा देशका दर्शक र केबुलसञ्चालकहरूमात्र नभई कहिलेकाहीँ सरकार पनि हल्लिन्थ्यो । यसै वस्तुस्थितिका कारण केही नयाँ गरेर देखाउने र स्वदेशी दर्शकलाई स्वदेशी च्यानलप्रति आकर्षित गर्ने नवजागरण ममा पलाएको थियो । यस मान्यतालाई लिएर म क्रमशः अगाडि बढ्न थालेको थिएँ ।

मेरो अग्निपरीक्षाको दिन नजिकिँदै थियो । म आफूलाई त्यसका लागि तयार पार्दै थिएँ । आखिर त्यो दिन पनि आयो जुन दिनको प्रतीक्षा म व्यग्रतापूर्वक गरिरहेको थिएँ । एक दिन, प्रबन्धकले बोलाएर एउटा कार्यक्रम-निर्माणको जिम्मा मलाई दिएका थिए । यसबाट म एकातिर खुसी थिएँ भने अर्कातिर जिम्मेवारीबोधले थिचिएको थिएँ ।

मेरो कार्यक्षेत्र थियो टेलिभिजनकै एउटा स्टुडियोकोठा । त्यहाँ एकजना चर्चित महान् व्यक्तिको अन्तर्वार्ता मैले लिनु थियो । यसैले मसँग खटाइएका एकजना क्यामराम्यानका साथ लागेको थिएँ स्टुडियोकोठातिर । स्टुडियोभित्र पसेको मात्र के थिएँ एक हूल मुसाहरूले "च्याँ-च्याँ" "चुँ-चुँ" गर्दै मेरो पहिलो स्वागत गरेका थिए । तिनीहरू मतर्फ दगुर्दै आएर मेरा खुट्टामा गणेशभक्ति प्रदर्शन गर्न थालेका थिए । तिनीहरूको भक्तिबाट खुसी भएर "तथास्तु" भन्नुको साटो तर्सिएर म ढोकाबाहिर उछिट्टिन पुगेकोले हुनुपर्छ सबै मुसाहरू भागिसकेका थिए । कोठा भित्रबाट सहनै नसक्ने दुर्गन्धमात्र आइरहेको थियो । जसोतसो भित्र पसेको त त्यो स्टुडियो नभएर मुसाहरूको शौचालय रहेछ । त्यहाँ अडिएर बसिरहन नसकेपछि बाहिर निस्केको थिएँ । मसँगसँगै मेरो क्यामराम्यान पनि बाहिर निस्केका थिए । सायद उनी त्यहाँको कार्यवातावरणबाट परिचित थिए त्यसकारण उनी प्रतिक्रियाविहीन थिए ।

अब मैले र्सवप्रथम मेरो कार्यशृङ्खला तय गर्नु थियो जसको पहिलो सूचीमा पर्थ्यो स्टुडियोकोठा सफा गर्नु । कोठा सफा गर्नाका लागि एकजना परिचरको आवश्यकता थियो र म उसलाई खोज्न थालेको थिएँ । मेरा क्यामराम्यान आफ्नो काँधको क्यामरालाई भुइँमा फ्यात्त राखेर सुस्ताइराखेका थिए । उनको अनुहारमा मप्रति सन्तुष्टिको भाव थिएन । आफ्ना अगाडि असरल्ल छरपस्टिएका वर्तमानलाई देख्तादेख्तै कत्ति विचलित नभई म लागेको थिएँ परिचरको खोजी गर्न । खोज्दै जाँदा उनी क्यान्टिन (चमेना गृह) मा फेला परे । वरिपरि साथीहरूलाई राखेर उनी गफ चुट्दै रहेछन् । उनको रसिलो गफ सुनेर हाँस्नेहरूको आवाजले बेलाबेलामा क्यान्टिन नै उचाल्न खोज्दो रहेछ । एक मन त भएको थियो उनको गफमण्डलीमा म पनि सामेल हूँ तर मैले त्यसो गर्न सकिनँ । किनभने मेरा अगाडि मेरो जीवनको सर्वोत्तम अवसर हात बाँधेर उभिइराखेको थियो । त्यसलाई गुमाउन म किमार्थ तयार थिइनँ । उनलाई बोलाउन सानोतिनो भीड छिचोल्नुपर्ने भएकाले म उनले चिया खाइसक्ने प्रतीक्षामा उभिएको थिएँ । मेरो उपस्थितिलाई कत्ति महत्त्व नदिई उनीहरूको गफ कहिले आकाशमा पुग्थ्यो त कहिले जमिनमा पछारिन्थ्यो । राष्ट्र, अन्तर्राष्ट्र, राजनीति, सामाजिक, आर्थिक, धार्मिक आदि कुनै यस्तो विषय बाँकी बचेको थिएन जसको त्यहाँ चर्चा नभएको होस् । गफ जहाँ जसरी पुगे पनि देशमा आएर टक्क अडिन्थ्यो । देशको दुर्दशा सम्झेर त्यहाँ एकछिनका लागि शान्ति छाउँथ्यो मानौँ उनीहरू देशको बर्बादीमा शोक मनाइरहेका हुन् । शान्ति-भङ्ग गरेर नयाँ कुराको सुरुआत उनले- अर्थात् जसको खोजीमा म त्यहाँ पुगेको थिएँ- नै गर्थे । यसरी फेरि भङ्ग भएको कुराको शृङ्खला जोडिन्थ्यो र त्यसले कहीँकतै विश्राम लिने नामै लिदैनथ्यो । एउटा अचम्म त्यहाँ के देखियो भने गफको शृङ्खला यति वेगवान् हुँदा पनि त्यहाँ एकपटक पनि चिया अथवा चमेना आएको थिएन । रित्ता टेबिलका वरिपरि उनीहरू झुरुम्म परेर बसेका थिए र टेबलमा रित्ता गिलास अथवा प्लेट कतै थिएनन् । कतै चमेनागृहको साटो अफिसकोठामा पो भुलेर आइपुगेँ कि भनी दौडेर गएर ढोकाको भित्तामा टाँसिएको साइनबोर्डको प्लेट हेरेको थिएँ । त्यहाँ ध्वाँसो र धूलो जमेर अक्षर छोपिइसकेको रहेछ । पकेटरुमाल झिकेर पुछेर हेर्ेदा त्यहाँ "चमेनागृह" नै लेखिएको रहेछ । फर्केर गफ सकिने प्रतीक्षा गर्दागर्दै निक्कै समय घर्किसकेपछि न्वारानदेखिको साहस बटुलेर मुख खोलेको थिएँ, " ..........को हुनुहोला ?" समूहमा उनकै रोब जमेकोले उनैले प्रतिप्रश्न गरेका थिए, "किन खोज्नुभएको ? के काम थियो ? कहाँबाट आउनुभयो ?" आफ्नो प्रश्नको उत्तर पाउनुको साटो उल्टो धूवाँदार प्रतिप्रश्न आफूउपर बर्सिँदा केही क्षणका लागि मभित्रको मान्छेको मुटु थरर्र काँपेको थियो । तर पनि दरो खुट्टो टेक्तै बोलेको थिएँ, "होइन, ........ को हुनुहोला ?" मेरो मरन्च्याँसे प्रश्न फेरि दोहोरिएकोले हुनुपर्छ (हुनुपर्छ र ?) उनी अघिभन्दा अलि कड्किँदै बोलेका थिए, "तपाईंले खोज्नुभएको मान्छे मै हुँ । के काम थियो ? आज भ्याइँदैन अफिस छुट्ने बेला भइसक्यो  । भोलि आउनुस् ।" एकै सासमा यति भनिसकेर उनी गफिन थालिसकेका थिए ।

मैले आफ्नो परिचय दिएपछि उनले भने, " ! म त कहाँ बाहिरको मान्छे होला भनेको आफ्नै स्टाफ पो हुनुहुँदो रहेछ, नमस्कार सर ।" उनको "नमस्कार" पछि त्यहाँ उपस्थित अरूले पनि "नमस्कार" गरे तर कता-कता मलाई लाग्यो उनीहरूले गरेका "नमस्कार" मा उनीहरूभित्रको मान्छे बोलिरहेको थिएन । सुरुसुरुमा कुनै पनि नौलो संस्थामा सामाजीकरणको यस्तै समस्या हुन्छ भन्ने लागेर आफ्नो चित्त बुझाएको थिएँ । उनले कपाल कन्याउँदै मेरा छेउ आएर सोधेका थिए, "के काम थियो सर ?" अब म उनका लागि वास्ता गरिराख्‍नु नपर्ने मान्छेबाट "सर" मा बढुवा भएको थिएँ । त्यसपछि मैले आफू आउनाको प्रयोजन बताएको थिएँ । मेरो कुरा सुनिसकेपछि उनी यसो भन्दै बाहिरिएका थिए, "त्यो म भोलि मेहतरलाई भनिदिउँला सर । त्यसले गरिहाल्छ नि । कहाँ मैले त्यस्तो काम गरिरहने । नयाँ स्टुडियो छँदै छ नि त्यसमा गरे हुन्न ?" मैले केही भन्न नपाउँदै उनी टाढा पुगिसकेका थिए । समूहबाट अर्का एकजना उठेर भन्न थालेका थिए, "कहाँ उसले त्यस्तो काम गर्छ । ऊ त युनियनको केन्द्रीय सदस्य हो । ऊदेखि यहाँ सबै डराउँछन् । धन्न तपाईंले उसलाई त्यति भन्नुभयो । उसकहाँ त जी.एम. र सचिवहरू धाउँछन् । उसको पहुँच ठूला-ठूला नेताहरूसँग............" मलाई देशका एकजना महान् हस्तीसँग अन्तर्वार्ता लिन स्टुडियोकोठा तयार गर्नुपर्ने भएकाले उसको सबै भाषण सुनिराख्ने धैर्य भएन ।

ती महान् व्यक्ति आउने बेला टरेको पनि एक घन्टा भइसकेकोले लोत्रे कान लाउँदै क्यामराम्यान भएतिर कुदेको थिएँ । मेरा सामु विकल्प बाँकी नबचेपछि केही नयाँ गरेर देखाउने चाहनाले एकपटक मभित्र चिहाएको थियो । त्यसैलाई कार्यरूपमा उतार्ने सल्लाह मैले क्यामराम्यानसँग गरेँ । उनले पनि मेरो योजनामा मञ्जुरी दिए र हत्तपत्त झाडीपछाडि लुक्न गए । कार्यक्रमका मुख्य अतिथि मेरो देशको राष्ट्रिय समयअनुसार उपस्थित नभएपछि मेरो मुटुमा ढ्याङ्ग्रो ठोक्न थालिसकेको थियो, "कतै पहिलो गाँसमै ढुङ्गा त लाग्ने होइन !" तर त्यसो भएन उहाँ मेरो देशको राष्ट्रिय होइन स्थानीय समयअनुसार कत्ति पनि फरक नपारी मेराअगाडि पजेरोबाट ओर्लनुभयो । मैले उहाँलाई स्टुडियोबाहिरै स्वागत गरेँ । मेरो स्वागत-अभिवादनलाई उहाँले विशाल हृदयसाथ स्वीकार गर्नुभयो । मजस्ता अदनाप्रतिको उहाँको व्यवहार देख्ता लाग्थ्यो महान् व्यक्ति हुनु त यस्तो पो ! साधारण पहिरन, नम्र बोली, खाइलाग्दो हँसिलो अनुहार, यस्तै थियो उहाँको आकर्षक व्यक्तित्व । उहाँका ओजका अगाडि नतमस्तक नहुनुपर्ने कुनै कारण म देखिरहेको थिइनँ । मभित्रको मान्छे जुर्मुराएर उठ्यो र मलाई नै भन्न थाल्यो, "यस्ता महान् व्यक्तिहरूका देशमा जन्मन पाउनु तेरो अहोभाग्य हो, अब तेरो देशले पक्कै अनुहार फेर्छ-फेर्छ । यसमा शङ्कै छैन ।"

"खै कता हो कार्यक्रमस्थल ?" उहाँको प्रश्नसँगै म भुइँमा पछारिएको थिएँ । हत्तपत्त नजिकको स्टुल सार्दै भनेको थिएँ, "हजुर, भित्र स्टुडियोमा तयारी चल्दै छ एकछिन यहीँ बाहिर बसेर गफ गरूँ न, हुन्न ?"

"हुन्छ, हुन्छ। किन नहुने ?" भन्दै उहाँ मैले ठीक पारेको स्टुलमा उदारतापूर्वक बस्नुभएको थियो । उहाँको सदाशयता र उच्च व्यवहारबाट म झनै प्रभावित हुँदै गएको थिएँ ।

"हजुरको यति चाँडो प्रगति कसरी सम्भव भयो होला ? सफलताको रहस्य थाहा पाउन सक्थेँ कि ?" सकेसम्मको नम्र भाषामा अनौपचारिक कुराकानीको सिलसिला मैले नै सुरु गरेको थिएँ । 

"औपचारिक रूपमा भन्नुपर्दा त मेहनत र इमान्दारिता नै मेरो मात्र नभई सबैको सफलताको एकमात्र रहस्य हो भन्नुपर्छ तर हेर्नुस् भाइ, तपाईं भरखरको देखिनुहुन्छ । निचर्दा ओठबाट दूध आउला जस्तो छ तपाईंको त..........." उहाँले मप्रति स्नेह प्रकट गर्नुभएको थियो ।

"त्यसो भए सफलताको वास्तविक रहस्य थाहा पाऊँ न हजुर !" सकेसम्मको विनित भाव अनुहारमा समेट्तै दुहुन खोजेको थिएँ ।

"भन्न त नहुने हो तर तपाईंले सोधिहाल्नुभयो । फेरि यहाँ कार्यक्रम-निर्माण भइराखेको पनि छैन त्यसकारण सुन्नुस् ।"

म जीवनको पहिलो पाठशालामा ध्यान दिएर सुनिराखेको थिएँ । उहाँ मलाई पढाइरहनुभएको थियो । उहाँसँग आएकाहरू उहाँलाई टाढैबाट घेरेर सुरक्षा दिइराखेका थिए । उहाँका अमृतवाणीहरू लगातार प्रवाहित थिए ।

"हेर्नुस् भाइ, आजको समयमा मेहनत र इमान्दारीले केही हुनेवाला छैन । जसले मेहनत र इमान्दारीको कुरा गर्छ त्योभन्दा बुद्धू यो संसारमा कोही हुँदैन । त्यसले जीवनमा केही गर्न पनि सक्तैन । त्यो त सधैँ खाने र लाउने समस्याबाटै पिरोलिएको हुन्छ । त्यसले जीवनमा के सफलता प्राप्त गर्न सक्छ । यसो अलि-अलि छलछाम नगरे उँभो लाग्नै सकिन्न नि......"

"कस्तो छलछाम हजुर ?" बीचबीचमा पगार्नु जरुरी छ भन्ने लागेर प्रश्निएको थिएँ ।

"तपाईं पनि कोरा हुनुहुँदो रहेछ । यस्ता कुरा कसैलाई भन्ने होइन क्या । यी त आफैँ सिक्तै पो जानुपर्छ । सोधिहाल्नुभयो, ल सुन्नुस्, कसैलाई नभन्नुहोला नि मैले यसो भन्थ्यो भनेर । फेरि मेरो दोहोलो काढेर मारिहाल्छन् ।"

म मन्त्रिँदै थिएँ ।

"तपाईंले के ठान्नुभएको छ मैले मेहनत र इमान्दारीले यत्रो सफलता हात पारेँ ?" उहाँ मलाई नै प्रश्न गर्न थाल्नुभएको थियो । म आज्ञाकारी बालकझैँ उहाँलाई सुन्न थालेको थिएँ ।

"मेहनत र इमान्दारीको पछि लाग्ने सबभन्दा पटमूर्ख र बेबकुफ हुन् ।" उहाँ पड्किन थाल्नुभएको थियो । मलाई लागेको थियो मेहनत र इमान्दार मान्छेबाट यस संसारमा सबभन्दा बढी पीडित कोही छ भने त्यो उहाँ नै हो । नभए मेहनत र इमान्दारीका विरुद्धमा उहाँले यतिविधि विषबमन नगर्नुपर्ने हो । उहाँको कुरा सुन्दा लाग्थ्यो त्यस्ता कुरा गर्नेसँग उहाँको सात जन्मदेखिको वैरभाव चलिआएको थियो ।

"हिजोसम्म गाउँमा फाटेको चप्पल लगाएर हिँड्नेले के त्यस्तो जादु गर्न सक्छ र आज सहरमा महल र सुविधासम्पन्न गाडी चढ्न सक्छ । यी मेरा सेना पनि आज मसँग छन् र पछि लागेका छन् । नभए हिजोसम्म गाउँमा हिँड्दा मेरो पछि भुस्याहा कुकुर पनि हिँड्दैनथ्यो र भुक्न पनि अल्छी मान्थ्यो ।"

मेरा महान् व्यक्तिको दयनीय विगत सम्झँदा मलाई दुःख लागेको थियो । उहाँ बग्दै हुनुहुन्थ्यो ।

"सहर पसेपछि ........ को ढोका कुरिएन कि,.........को फरिया धोइएन कि,........... को गोडा मलिएन कि । के-के गरियो, के-के, भनिसाध्य छैन भाइ । छाडूँ यस्ता कुरा भित्र जाऊँ । कार्यक्रम सकूँ &#